Unicode Converter१९ मंसिर २०७८, आईतवार

शिक्षाको कुल बजेटमा १ अर्ब ८६ करोड घट्यो

सरकारले शिक्षाको कुल बजेटमा १ अर्ब ८६ करोड घटाएको छ । अघिल्लो सरकारले शिक्षामा बिनियोजन गरेको १ खर्ब ८० अर्ब ४ करोड बजेटमा उक्त रकम घटाइएको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षामा कुल बजेटको २० प्रतिशत हुनुपर्छ । तर नेपालमा त्यसको आधाआधी मात्रै बजेट बिनियोजन हुने गरेको छ । अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्दै वर्तमान सरकारले शिक्षाको बजेट घटाएपछि शिक्षासँगसम्बन्धी योजना प्रभावित हुने देखिएको छ । सरकारले अध्यादेश प्रतिस्थापन विद्येयकमार्फत ल्याएकोे बजेटमा शिक्षामा नयाँ कार्यक्रमको घोषणा गरेको छ भने शिक्षक र कर्मचारीको तलव बढाउने पूर्ववर्ती सरकारको निर्णयलाई यथावत राखेको छ । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राष्ट्रपति शैक्षिक सुधारतर्फको केही रकम घटेपनी समग्रमा बजेटमा कमि नहुने तर्क गर्नुभयो । शिक्षामा बजेट घटाउँदा शिक्षा क्षेत्रको सुधारमा गरिएको अपेक्षा पूरा नहुने शिक्षाविद् रोशन चित्रकार बताउनुहुन्छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बिनियोजन रकमबाट प्रविधिमा पहुँच बढाउने गरी नयाँ कार्यक्रम ल्याइएको शिक्षा मन्त्रालयको दावी छ । अहिलेको शिक्षाको बजेट विश्लेषण गर्दा यो कुल बजेटको १० दशमलव ९१ प्रतिशत हुन आउँछ । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने प्रत्येक वर्ष शिक्षामा बजेट बढ्दै गएको दाबी गर्छ । आर्थिक वर्ष २०६९÷७० मा शिक्षाको बजेट १५ दशमलव ६८ प्रतिशत पुगेको देखिन्छ तर त्यसपछिको शिक्षाको बजेट १० देखि १२ प्रतिशतमा मात्र सीमित हुने गरेको छ ।

Facebook Comments