Unicode Converter२० श्रावण २०७८, बुधबार

कोरोनाको तेस्रो लहर बालबालिकाको लागि साँच्चिकै खतरा हो?

सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइरसले अहिले पनि विश्व आक्रान्त छ। जसका कारण ३५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १७ करोडभन्दा बढी यो रोगको चपेटामा परिसकेका छन्।



खुल्ला सिमाना, सहजै आवतजावतजस्ता कारणले पछिल्लो समय नेपाललाई पनि यो रोगले थला पारेको छ। नेपालमा करीब ८ हजार जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या झन्डै ६ लाख पुग्न थालेको छ। यो तथ्यांक अझ चुलिँदो छ। यसले हाम्रोजस्तो विकासशील मुलुकको अर्थतन्त्रलाई नराम्ररी असर पारेको छ।

स्वास्थ्य मापदण्ड पालनामा हेलचक्य्राइँ गरेकै कारण यसको विकसित रूप दोस्रो लहर मानव जीवनका लागि असैह्य र घातक भएको हामी भोगिरहेका छौं।

पहिलो लहरभन्दा दोस्रो लहरमा यो भाइरस निकै घातक बनेर आयो। दोस्रो चरणमा शक्तिशाली रूपमा प्रवेश गरेको यो भाइरस नियन्त्रण नहुँदै फेरि तेस्रो लहरमा उत्परिवर्तनका साथ नयाँ विकासित भएर अझ बढी घातक हुने हो कि भन्ने शंका गरिएको छ। यसका साथै खोप नलगाएका बालबालिका बढी जोखिममा पर्ने हुने कि भन्ने आशंका उब्जाएको छ। यसै सन्दर्भमा के हो त तेस्रो लहर र यसले मानव जीवनमा कस्तो असर पार्छ भन्ने विषयमा प्रश्नोत्तरका रूपमा जानकारी दिने प्रयास गरिएको छ।

१) साँच्चिकै कारोनाको तेस्रो लहरको सम्भावना छ?

महामारी वास्तवमै चरणवद्ध रूपमा आउने गर्छ। प्रत्येक चरणहरू (लहर) अत्याधिक संक्रमण फैलन्छ। यसरी संक्रमण फैलने क्रममा कुनै मानिसमा रोग प्रतिरोधात्मक क्षमता स्वंय बन्दै जान्छ। यसरी रोग प्रतिरोध क्षमताको विकास भएको खण्डमा रोगको प्रभाव समयको क्रमसँगै कम हुँदै जाने वा यसको प्रभाव नियमित रहने गर्छ।

तेस्रो लहरको सम्भावनालाई नकार्न सकिन्न। तर यसको प्रवेश र विस्तार सामान्य वा कडा रूपमा, कुन समयमा आउँछ भन्ने कुराको कुनै टुंगो छैन।

२)चर्चा चलेजस्तै कोरोनाको तेस्रो लहर बालबालिकाको लागि बढी जोखिम हो?

कोरोनाको पहिलो लहरमा गम्भीर र जटिलखाले बिरामी प्रौढ उमेर समूहका तथा दीर्घ रोगीहरू थिए। अहिलेको दोस्रो लहरमा धेरै संख्यामा कम उमेर समूह (३० देखि ४५ वर्ष) का व्यक्तिमा गम्भीर प्रकारको लक्षण अथवा बढी संक्रमण पाइएको छ। त्यति मात्र होइन कुनै दीर्घ रोग नभएका व्यक्तिमा पनि दोस्रो लहरमा कडा प्रकारको कोरोना लक्षण देखियो।

त्यस्तै दोस्रो लहरको समाप्तिसँगै सुरक्षा मापदण्ड अपनाइएन भने कोरोनाको तेस्रो लहरमा रोग प्रतिरोधात्मक क्षमता प्रबल नभएका बढी जोखिममा पर्छन्। यस्तै खोप नलगाएका बालबालिका यसबाट अछुतो रहने कुरै आउँदैन।

कोरोना भाइरसको सम्बन्धमा भारतमा गरिएको पछिल्लो सर्वेक्षण (डिसेम्बर २०२० देखि जनवरी २०२१) अनुसार १० देखि १७ वर्षका बच्चामा कोरोना संक्रमण दर २५ प्रतिशत देखिएको थियो। यो संक्रमण दर वयस्कसँग मेल खाएको छ। यसले वयस्कमा भन्दा बालबालिकामा संक्रमण दर खासै भिन्न छैन भन्ने संकेत गर्छ।

माथिको तथ्यांकअनुसार बालबालिका र वयस्कमा संक्रमण दरको सम्भावना खासै भिन्नता नभए पनि वयस्कको तुलनामा कडा र जटिलखाले लक्षण निश्चित रूपमा बालबालिकामा कम भने हुन्छ। तसर्थ तेस्रो लहरले वयस्कलाई छोडेर बालबालिकालाई मात्र बढी असर गर्छ भन्न गाह्रो हुन्छ।

३) यसपालि बच्चामा कडा प्रकारको संक्रमण वा जटिलताको सम्भावना बढी देखिएको हो?

सुखद संयोग नै मान्नुपर्छ, तुलनात्मक रूपमा अहिलेसम्म बालबालिका कोरोनाबाट कम प्रभावित छन्। यसको प्रमुख कारण शरीरमा भाइरसको रिसेप्टर्सहरू कम अभिव्यक्त हुनु हो। रिसेप्टर्सहरूबाट नै भाइरस इम्युन सिस्टममा प्रवेश गर्ने गर्छ। अथवा सरल रूपमा भन्दा भाइरसलाई शरीरमा सजिलै प्रवेश गर्न नदिई प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्नबाट बचाउँछ।

वयस्कको तुलनामा बालबालिकाको श्वासप्रश्वास प्रणाली अलि फरक हुन्छ। बालबालिकाहरू पूर्णतः अभिभावक नियन्त्रित रहने हुँदा उनीहरूको मानसिक र शारीरिक विकासमा विशेष ध्यान दिन जरूरी हुन्छ भने उनीहरूलाई उचित मार्गनिर्देशनको पनि त्यत्तिकै आवश्यकता पर्छ।

संक्रमित बालबालिकामध्ये ९० प्रतिशतमा हल्का अथवा खासै लक्षण नदेखिने प्रकारको हुन्छ। त्यसैले गम्भीर प्रकारको संक्रमणको उच्च सम्भावना बालबालिकामा अलि कम देखिएको छ।

४) त्यसो भए कारोनाको तेस्रो लहरमा बालबालिकामा गम्भीर रोगको सम्भावना छैन अथवा सोको प्रक्षेपण गर्न गाह्रो भएको हो?

हामीले माथि डिसेम्बर २०२० देखि जनवरी २०२१ सम्मको संक्रमित तथ्यांक हेर्‍यौं। सरसर्ती हेर्दा वयस्कको दाँजोमा बालबालिकामा जटिलता कम देखिएको छ। अब आउने तेस्रो लहरमा पनि वयस्कको तुलनामा बालबालिकामा संक्रमण केही न केही अवश्य कम हुन्छ र खतरा पनि कम भन्ने अनुमान गर्न सकिन्छ।

विभिन्न देशको पहिलो र दोस्रो लहरको संक्रमण तथ्यांकले पनि त्यही नै देखाएको छ र भनिएको पनि छ कि, अस्पताल तथा आइसियुको आवश्यकता कम पर्न सक्छ। तर यसो भन्दैमा ढुक्क बस्नु भने हुँदैन, हामी होसियार बन्नैपर्छ। अबको लहर कुन विकसित रूप लिएर आउँदैछ भनेर कसैलाई थाहा छैन। भनाइ नै छ कि, ‘नराम्रो आउँदै छ भनेर तयार रहनुस् र उत्तम उपाए अपनाएर ढुक्क हुने आशा राख्नुस्।’

अहिलेसम्मको प्रमाण हेर्दा तेस्रो लहरमा बालबालिकामाथि जटिल समस्या हुँदै हुन्न भन्ने त छैन। तर कोरोनाका कारण जटिल समस्या परेको खासै प्रमाण पनि छैन।

५) कतै कतै सुनिएजस्तो कोभिड-१९ को कडा लक्षण अहिले नै देखिएको छ र बालबालिकामा? यसमा यथार्थता के छ?

कोभिड-१९ का बिरामीमध्ये केही बिरामीलाई कडा मात्रामा असर गरेको देखिएकै हो। जसमध्ये निमोनिया र एमआईएससी (मल्टिसिस्टम इन्फ्लमेटरी सिन्ड्रोम) लक्षणहरू पर्छन्। तर पनि निमोनिया वयस्क मानिसको तुलनामा बालबालिकामा बिरलै देखिएको छ। केही बालबालिकामा भने बिरामी भएको २ देखि ६ हप्तापछि सामान्य र लक्षण नभएका बच्चामा एमआईएससी देखिएको छ। यो ६ वर्षभन्दा मुनिका बालबालिकालाई रोग प्रतिरक्षा प्रणालीलाई मानिएको छ। यसको संक्रमण दर भने प्रतिलाख १२ जनामा देखिएको छ। तर यसको पहिचान समयमै भइ राम्रो उपचार भएमा पूर्ण रूपमा निको हुन्छ। यस्ता बालबालिकामा देखिने यस्ताखाले कडा लक्षण प्रायः अरू बालबालिकामा सर्ने खालको देखिएको छैन।

सुरूमा अथवा २ देखि ६ सातापछि एमआईएससी (मल्टिसिस्टम इन्फ्लमेटरी सिन्ड्रोम) ले गर्दा केही बालबालिकामा कडा लक्षण देखिने र आइसियु जरूरी पर्न पनि सक्छ । तर, समयमा उपचार पाएमा छिटो निको हुन्छ।

६) तेस्रो लहर आयो र संक्रमणले बढी असर गरे हाम्रो तयारी कस्तो हुनुपर्छ?

धेरैजसो बालबालिकामाथि उल्लेखित गरिएजस्तै सामान्य लक्षण देखा पर्छन् र त्यो बेलामा यिनीहरूलाई घरमै विशेष निगरानी गर्नुपर्ने हुन्छ। उपचारमा प्रत्यक्ष संलग्न र सन्देश आदान-प्रदानले हामीले कोभिड-१९ बाट पछिल्लो १५–१६ महिनामा धेरै सिक्यौं।

वयस्कमा देखिएको लक्षणले हामीलाई धेरै अनुभवी पनि बनायो। साथै धेरै मार्गनिर्देशनसमेत गर्‍यो। यसबाट बाल रोग विशेषज्ञको समाज (नेपास) र स्वास्थ्य मन्त्रालयको निर्देशन, भीड व्यवस्थापनका सम्बन्धमा दिइएका निर्देशनको पूर्ण पालना, यसको संवेदनशिलता, प्रशिक्षण तथा व्यवस्थापन स्थानका बारेमा धेरै अनुभवी बनाएको छ।

अहिलेदेखि नै बच्चाका लागि कोभिड कक्ष, उच्च निर्भरता कक्ष (एचडिययु), गहन सघन कक्ष (आइसियु) जस्ता महत्वपूर्ण कार्यको व्यवस्थापनमा जुट्नु पर्ने हुन्छ। त्यस्तै संवेदनशिल अवस्था आइसकेपछि भन्दा पनि आउनुपूर्व अभिभावकलाई सचेतना शिक्षा, परामर्श र संक्रमण एवं हुन सक्ने जटिल अवस्थाका बारेमा जानकारी गराउनु अत्यन्त आवश्यक छ।

(नोट- कोभिडको सम्बन्धमा बच्चामा पनि अरू सामान्य नै उपचार हो। जसमा अभिभावकले आफूसँगै बालबालिकालाई मास्कको अनिवार्य प्रयोग गर्न सिकाउने, हातको सरसफाइ, सामाजिक दूरी, संक्रमणको बेला विद्यालय नजाने, सरकारद्वारा जारी गरिएका निर्देशन पालना गर्न लगाउनेलगायत अन्य स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सिकाउनुपर्छ।)

महामारी आउनुपूर्व नै होशियारी अपनाउँदै आवश्यक तयारी गर्नुपर्छ। सावधानीपूर्वक उच्च सतर्कता अपनाउँदै स्वास्थ्य मापदण्ड अपनायौं भने खासै डराउनु पर्दैन।

७) के हामी बालबालिकालाई खोप लगाउने दिशातर्फ उन्मुख छैनौं वा यसलाई प्राथमिकतामा राखेका छैनौं?

हालसम्म ग्लोबल डाटामा देखिएको तथ्यांकअनुसार कोभिड-१९ बाट बालबालिकाभन्दा वयस्क हजार गुणा बढी प्रभावित र मृत्यु हुने सम्भावना हुन्छ। त्यसैले पहिला उच्च जोखिममा पर्नेलाई खोपको आवश्यक पर्छ। यस अर्थमा बालबालिकाभन्दा पहिला वयस्कलाई पहिलो प्राथमिकतामा राख्नु परेको हो।

बालबालिकामा भन्दा वृद्धवृद्धामा संक्रमण बढी हुने र प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ। वयस्कमा प्रयोग भएकै खोप करिब करिब सोही अनुपातको बालबालिकामा प्रयोग हुने हो, यसले अनुभव पनि बढायो। वयस्कपछि अबको प्राथमिकतामा बालबालिका आउँछन्।

बालबालिकासम्बन्धी खोप पनि निर्माण भइरहेका छन्। हालैमात्र अमेरिका, बेलायत, भारतजस्ता देशमा यो खोप बन्दै र प्रयोग हुँदैछ। हामीकहाँ पनि प्राथमिकता क्रमअनुसार बालबालिकामा पनि खोप प्रयोग हुनेमा आशावादी बनौं।

तुलनात्मक एवं सानो संख्यामा भए पनि बालबालिकामा समेत संक्रमण हुनसक्छ, सचेत बनौं।

सेतोपाटी बाट ।

Facebook Comments