Unicode Converter१९ मंसिर २०७८, आईतवार

नाकाको चोरबाटो किन सिकाउँछ एसएसबी ?

रगत र पिसाबको रिपोर्ट आउन समय लाग्यो । बिरामी सोल्टी सन्जिव पछाई र म २४ घण्टा सम्म पनि रिपोर्ट नआउनुको आत्तुरीले भारतको लखनउमा थकित थियौँ । उता अर्को त्रासदी पनि थियो रुपैडिहा नाका राती १० बजे पछि बन्द हुने समय तालिका निर्धारित छ ।

लखनउमा घडीको सुईले सात बजाईसकेको थियो । चेकजाँच पछि हतार हतारमा नेपाल तर्फको यात्रा सुरु गर्यौँ । ट्याक्सी चालकसंग गफिँईरहेका उनलाई अत्याईरहेका पनि थियौँ ‘रुपैडिहा जल्दी पहुँच्ना पडेगा ।’

लखनउ देखि १ सय ८० किलोमिटर दुरीमा रहेको रुपैडिहा सम्म पुग्नका लागि लाग्ने समय साढे तीन घण्टा भनिदिन्थे चालक । मन झसंग भैरहन्थ्यो । ‘जे त होला !’ सोल्टी मन दह्रो बनाउँदै नेपाल पुग्नुको अत्याश ब्यक्त गरिरहनु भएको थियो ।

१० बजे नाका पुग्ने सपना तुहियो । हामी साढे १० बजे मात्रै रुपैडिहा नाका पुग्यौँ । सडक पुरै बन्द भैसकेको थियो । भारतीय सुरक्षा बल एसएसबीका जवानहरुले नाकामा पहरा दिईरहेका थिए । हामी बाटो बन्द गरिएको स्थान नजिकै पुग्यौँ ।

एसएबीका एक जवान नजिकै आईपुगे । नाका बन्द भैसकेकाले प्रवेश नपाउने निर्णय सुनाईदिए । अब के गर्ने ? रुपैडिहा सुनसान भैसकेको थियो । कहाँ बस्ने ? अन्यौलमा पर्यौँ ।

एसएसबीका ति जवानले पर बलिरहेको एउटा बत्ति देखाई दिए अनि भने ‘त्यहाँ चोर बाटो छ, त्यहिँबाट जाउ ।’ उनका अनुसार त्यहाँ प्रहरी चौकी छ, अनि सामान जाँच गराएर नेपाल प्रवेश पाईन्छ ।

भारतीय सीमा सुरक्षार्थ खटिएका एक जवानले कसरी चोरबाटोबाट जान सल्लाह दिए ? मनमा अनेकन आशंकाका तानाबाना बुनिए । यहि आशंकाका बिच हामीहरु थप अन्यौलमा रह्यौँ । तर हामीहरुले अनुरोध गरेर सीमा पार गर्ने योजना बनायौँ, सीमा बन्द भएको थलो छोडेनौँ ।

केहिबेर पछि फेरी चोरबाटो सिकाईदिएका उनै जवान आईपुगे । बाटो सिकाउँदा पनि किन नगएको ? भनेर उनले खरो आवाजमा सोधे । हामीहरु पहिलो पटक भारत प्रवेश गरेकाले केहि थाहा नभएको जवाफ दियौँ । उनले फेरी उहि बत्ति देखाउँदै भने ‘उतैबाट घुमेर जाने बाटो छ ।’

हामीहरु सशंकित थियौँ, भारतीय सुरक्षाकर्मीले नै रातीमा चोरबाटो सिकाउनुमा कुनै न कुनै रहस्य त पक्कै हुनुपर्छ । केहि पनि थाहा नभएको हाम्रो जवाफले उनि बाटो खोलिदिन बाध्य भए । अनि ब्याग जाँच गरेर हामीहरु नेपाली भुमिमा प्रवेश गर्यौँ ।

मनमा अनेकन कुरा खेल्न थाले । साँच्चै भारतीय सुरक्षाकर्मीले किन हामीहरुलाई चोरबाटो प्रयोग गरेर जान सल्लाह दिए ? चोरबाटो भएर लागु औषधी सप्लाई गर्न खोजेका केहि ब्यक्तिहरुलाई त्यहि भारतीय सुरक्षा बलले समातेको रहेछ ।

एकजना एसएसवीका प्रतिनिधिले उपल्लो निकायमा सञ्चार गरिरहेको हामीहरुले सुनेका थियौँ । हामीहरु पनि ति एसएसबीले सिकाएको त्यहि चोरबाटो गएको भए अपराधि हुँदैन थियौँ भन्ने के ग्यारेण्टि ? कतै हामीहरुलाई ति एसएसबीले नियतबस् नै फसाउन त खोजेका थिएनन् ?

चोरबाटो सिकाईदिएका उनै एसएसबीले चेकिङका क्रममा चोर बाटो प्रयोग गरेको भन्दै हामीहरुलाई नियन्त्रणमा लिन सक्थेनन् भन्ने आधार के ? अनि लागु औषध तस्करको बिल्ला भिराईदिएको भए ?

त्यहाँ पक्राउ परिसकेको लागु औषध ओसारपसार गरेका भनेर हामीहरुमाथि चार्ज नलाग्ला भन्ने ग्यारेण्टि के ? यात चोरबाटो प्रयोग गरेको भनेर ‘जुर्बाना भराउन’ भन्न किन नसक्ने उनले ?

हामी चोरबाटो नगएर ठिकै गर्यौँ , अन्यथा हामी सतप्रशित जोखिममा पर्ने थियौँ । यहि निक्र्यौलमा पुग्यौँ । अन्यथा सीमा सुरक्षार्थ खटिएको भारतीय सुरक्षा बलले नाका पार गर्ने चोर बाटो किन सिकाउँछ ?

दया देखाएको भए सडक बन्द गरेको काठको लौरो तानिदिन कति समस्या उनलाई ? दयाका नाममा नाका पार गर्ने चोरबाटो सिकाई दिनुलाई दया भन्ने या फसाउने नियत ? यो सबैका लागि सोचनीय बिषय हो ।

Facebook Comments