Unicode Converter१९ मंसिर २०७८, आईतवार

रातमा ‘लुट्ने’ शौचालयमा ‘बाहुबली’ को पहरा

गत पुस अन्तिम साता मध्यरातमा लमहीको रात्रीकालीन बजार स्थित ‘रातमा लुट्ने शौचालय’ चम्किरहेको थियो । रातमा शौँचका लागि पुग्ने नागरिकहरुबाट दोब्बर रकम असुलिरहेको शौचालयको दम्भ थियो ‘खुरुक्क भनेको जति रकम दिनुस् ।’

दिउँसोमा पिसाब गरेको ५ रुपैयाँ लिने शौचालय रात पर्यो कि दोब्बर रकम असुलेर ‘रातमा लुट्ने शौचालय’को परिचय दिईरहेको रहेछ । किन यस्तो ? शौचालयका चौकिदार मध्यका एकजना खरो रुपमै उत्रिए ‘तपाईहरुलाई के चाहिएको हो ?’

जवरजस्ती शौँचको दोब्बर रकम असुल्ने यो शौचालयको ‘गुण्डाराज’ का अगाडी शौचालय जाने नागरिकहरु तर्सनु पर्ने अवस्था उस्तै । शौचका लागि शौचालय पुग्नेहरु माथि भएको यो ज्यादतीले एउटा समाचार शिर्षक जन्माईदियो — रातमा लुट्ने शौचालय ।

गत शनिबार हामी सोही शौचालयमा पुग्यौँ । रातमा लुट्न पल्केको शौचालयले त्यो रात पनि ‘लुट लीला’ मच्चाईरहेको थियो । पिसाब गरेको १० रुपैयाँ किन त ? जवाफ पुस अन्तिम साताको भन्दा केहि फरक थिएन ।

‘रातमा १० नै हो ।’ किन त रातीमा १० रुपैयाँ ? खरो जवाफ ‘रातीमा ड्युटि गर्न सजिलो हुन्छ त ?’ सार्वजनिक शौचालयमा रातमा मच्चिने लुटलाई प्रहरीले देख्दैन त ? तर कति सम्म भने प्रहरीलाई जानकारी दिना साथ यो खबर उक्त क्षेत्रमा बजार तथा शौचालय सञ्चालनको ठेक्का लिएका ठेकेदारलाई पुगिहाल्दो रहेछ ।

केहिबेर पछि उक्त शौचालय क्षेत्रमा एक जना प्रहरी आईपुगे । ति प्रहरीले शौचालयमा भैरहेको लुटलीला बुझेकै रहेछन् । अनि भने ‘हामीहरुले जति सम्झाउँदा पनि मान्दै मान्दैनन् ।’

यतिबेला सम्म उक्त शौचालयको ठेक्का पाएका ठेकेदार ले शौचालयका बारेमा भैरहेको सोधीखोजी थाहा पाईसकेका रहेछन् । केहिबेरमा उनि पनि आईपुगे । तर एक्लै हैन, दलबल सहित ।

अनि सुरु भयो शौचालय परिसरमा गुण्डाराज । ‘तपाईहरुलाई के चाहिएको हो ?’ ठेकेदारका पहरेदार मध्यका एकजनाले भन्दै थिए ‘तपाईहरुको आपत्ति कहाँनेर के मा हो ?’ उनि शौचालयले गरिरहेको गलत कार्यलाई सहि सावित गर्न खोजेका मात्रै थिएनन् , उक्त गलतलाई सर्वसाधारण नारिकहरुले पनि जवरजस्त सहि मानिदिनु पर्ने धम्की दिन खोज्दै थिए ।

यसले प्रष्ट पारिरहेकै थियो, सर्वसाधारणहरुको सेवाका लागि रातमा लुटन् पल्केको यो शौचालयमा त गुण्डाराज चल्दो पनि रहेछ । शौचालयको बिषयमा सोधिखोजी गरिरहेका हामीहरु उनिहरुको नजरमा सतप्रतिशत गलत बनिरहेका थियौँ । ‘दम्भ के का लागि ?’ हाम्रो प्रश्न थियो ‘ईस्यू के हो ? यसमा कुरा गरौँ ।’धम्कीपूर्ण बोलेका ति युवक केहि शान्त बन्न खोज्दै थिए ।

‘तपाईले भनेको पनि ठिक हो, हामी करेक्सन गर्न भनौँला’ उनले भने ।
ठेकेदारले पनि यो कुरामा समर्थन जनाए । अनि भने ‘म शौचालय हेर्ने चौकिदारहरुलाई भोली नै सच्याउन भन्छु ।’ अनि दम्भ केका लागि त ? ठेकेदारले भने ‘हामी साथीहरु संगै बसिरहेका थियौँ,हामीलाई चौकीबाट शौचालयका बारेमा भैरहेको सोधिखोजीका बारेमा खवर आयो, अनि सबै साथीहरुले हामी पनि जान्छौँ भनेका हुन् ।’

उनको भनाई अनुसार त्यहाँ भैरहेको सोधिखोजीले उनिहरुको आक्रोश बढाईदियो, अनि फेस गर्नका लागि त्यहाँ पुगेका थिए ।
शौचालयमा भैरहेको लुटलीला उनै ठेकेदारले पुष्टि गरिदिए ।

उनले भने ‘पिसाब गरेको ५ रुपैयाँ मात्रै लिने होे,यो भन्दा बढि लिने भन्ने सम्झौतामै छैन ।’ यो शौचालय तथा त्यस क्षेत्रमा चलेको रात्रीकालिन बजार लमही नगरपालिकाले ठेक्का मार्फत सञ्चालन गरिरहेको छ । बजारमा निर्माण भएका टहरामा पसल थापेका ब्यापारिहरुले उक्त टहरामा ब्यवसाय सञ्चालन गरे वापत मासिक १ हजार रुपैयाँ बुझाउँछन् ।

अनि शौचालयको शुल्क तोकिएको पिसाबको ५ रुपैयाँ , दिसा गरेको १० रुपैयाँ । ‘सम्झौता अनुसार पिसाब गरेको ५ रुपैयाँ मात्रै हो,’ ठेकेदारले भने ‘चाहे रातमा या दिनमा होओस् यो भन्दा बढि रकम लिन पाईन्न ।’

जवरजस्ती रातमा दोब्बर असुल्ने शौचालयको लुटलीला । अनि यो बिषयमा सोधिखोजी गरेको शौचालयमा मच्चिने गुण्डाराजका बारेमा वडा प्रहरी कार्यालय लमहीले चासो राखेको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरिक्षक राजन पौडेले सार्वजनिक शौचालयमा भैरहेको लुट अन्त्य गरि छाड्ने बताए । ‘रातीमा सर्वसाधारणहरुबाट बढि रकम असुल्ने अनि कसैले यसका बारेमा सोधिखोजि गर्न थाल्यो भने गुण्डाराज देखाउनेहरुलाई म छोड्दैन,’ उनले भने ‘यसबारेमा मैले आँफै निगरानी गर्ने छु, दोषी भेटिए सिधै लिएर कोच्छु ।’

 

Facebook Comments