Unicode Converter१९ मंसिर २०७८, आईतवार

‘सभापति ज्यू आन्दोलनमा जाउँ कि चुनाव पर्खौँ ?’

निरज गिरी

श्रीमान : शेरबहादुर देउबा ज्यू , सभापति , नेपाली कांग्रेस ।
सभापति ज्यू जयनेपाल ।

बर्तमान अन्यौलग्रस्त राजनीतिलाई उचित ब्यवस्थापन गर्नका निम्ती तपाईको धपेडीले तपाईलाई चैन पक्कै मिलेको छैन होला । पार्टीको सिंगो अजेण्डा स्थापीत गरेर राष्ट्र हितका निम्ती कसरी प्रस्तुत हुने भन्ने बिषयमा तपाईको परेशानी पनि म बुझ्छु ।

त्यसमाथि आफ्नो पार्टी भित्रको कचिंगलका कारण राष्ट्रलाई अनिर्णयको बन्दी बनाएका प्रचण्ड,केपी, माधव मध्य कसलाई समर्थन गरेर जाने ? भन्नेमा अन्यौलमा रहेका तपाईको यो सकस पनि मैले नबुझेको हैन । सभापति ज्यू हाम्रो पार्टीका अन्य शिर्ष नेताहरुसंगको भेटमा तपाईले ब्यक्त गरेका अभिब्यक्ति अनि अन्य नेताहरुबाट आउने जवाफले छर्लंगै हुन्छ ‘साँच्चै तपाई कम्ता तनावमा हुनुहुन्न ।’

तर मलाई यो बिश्वास छ कि तपाई राष्ट्र हित बिपरितको नेकपा गुटसंग काँध जोड्न पुग्नु हुनेछैन पक्कै पनि । तपाईले राष्ट्र अनि कांग्रेसका लागि कसो नसोच्नु होला र ?

सभापति ज्यू , समाचारमा देख्छु, पढ्छु , सुन्छु । मेरो अनि तपाईको कांग्रेसलाई बिशेषण जोडिएको छ ‘ढुलमुले कांग्रेस ।’ हामि किन ढुलमुलमा छौँ ? यो प्रश्न म सोध्दैन, मलाई थाहा छ ।

तर यो चाहिँ सोध्छु , कति दिन ढुलमुले कांग्रेस भनेर आम नेपाली नागरिकहरुले कांग्रेसलाई समाचारमा पढ्ने ? भट्टिबाट मस्त दारुको नशामा सडकमा हल्लिँदै हिँडेको जँड्याहाको जस्तै ढुलमुले रमिता कतिदिन सम्म सानेपा आसपास देखाई रहने ?

मलाई त लाग्दैन, तपाईँ फेरी अर्को पटक प्रधानमन्त्री बन्नकै लागि ढुलमुलमा हुनुहुन्छ र कांग्रेसलाई ढुलमुले बनाई रहनु भएको छ । बाहिर चर्चा यहि सुन्छु तर मैले मेरो पार्टी सभापति माथि लगाएको यो आरोपको राम्रैसंग खण्डन गर्दै आएको छु ।

तपाईको एक सिपाही हुनुका नाताले पनि तपाई माथि यो आरोप लाग्न नदिन सकेजति लाग्ने छु । तर सभापति ज्यू मैले दुखका साथ भन्नै पर्छ तपाई हाम्रो कांग्रेसको ढुलमुलका कारण म जस्ता तल्लो तहमा रहेका थुप्रै कांग्रेसीहरु अन्यौलमा छौँ । पार्टीले संसद पुनरस्थापनाको बिपक्षमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्यो ।

मलाई लाग्दैन यो आन्दोलन तपाईको राजीखुशी अनुसार भएको थिएन भनेर । सभापति ज्यू तपाईको राजीखुशीमा आन्दोलन नभएको भनेर धेरैले भन्छन्, तर मैले स्वीकार्न अँझै सकेको छैन । तर तपाईले अदालतको निर्णय पर्खनु पर्ने भनेर दिएका अभिव्यक्तिले केपी ओली सकर्थक भनेर तपाईमाथि आरोप लगाउँदा मैले फेस गर्ने ठाउँ पाउँदैन ।

हो म तपाई नेतृत्वको हाम्रो पार्टीले घोषणा गरेका हरेक आन्दोलनमा नारा लगाउन हिँडे । सडकमा जिन्दाबाद र मुर्दाबादका नारा लगाएँ । तर कति जोड्ले जिन्दाबाद÷मुर्दाबाद भन्ने भेउ पाएन । मैले यो पनि थाहा पाएन म संसद बिघटन पक्षधर कि बिरोधी ।

यसको कारण त थाहा पाउनु भयो होला नि हाम्रो कांग्रेसको ‘ढुलमुल नीति’ । हो म बाध्यता भएर आन्दोलनमा सहभागी भएँ , तर मैले यो बुझेन म किन र के का लागि आन्दोलनमा सहभागी भएँ ? नेपाल बिद्यार्थी संघको जिल्ला सदस्य मैले अहिले सम्म नबुझेको यो बिषयलाई गाउँका सामान्य मतदाताले केहि बुझे होलान त ? त्यहि त सोधनी हुन्थ्यो हामीलाई ‘कांग्रेसले गर्न चाहेको के हो ? संसद पुनरस्थापना या चुनाव ?’

हामी नाजवाफ बन्यौँ भनेर मैले तपाईलाई थप भनिरहनु पर्छ होला र सभापति ज्यू ? म आँफै ढुलमुलमा रहेको पार्टीको कार्यकर्तासंग के जवाफ हुन्थ्यो ? हामी नाजवाफ बनेर गाउँबाट फर्केका कांग्रेसीहरुलाई सामान्य मतदाताले कस्तो नेता माने होलान् ? ग्लानी महशुस भैरहेको छ सभापति ज्यू ।

प्रचण्डपथमा साईनो गाँस्ने या बयलगाडाको यात्रामा निस्कने ? तपाई केन्द्रीय नेताहरु यहि बिषयमा सवालजवाफ गरिरहनु भएको छ । केन्द्रीय समितिको बैठकमा तपाईहरुले यहि बिषयमा गरेको रस्साकस्सी पढि रहन्छु । राष्ट्र हित कुन पथमा जोडिएको छ? भनेर तपाईहरुले किन बुझ्न नसक्नु भएको ? म भन्दैन तपाईहरु ‘यो गर्नुस्’,तपाईहरुका सामु म सामान्य कार्यकर्ताको यो सुझाव त बालुवामा पानी सरह नै हो । तर सभापति ज्यू राष्ट्रहितका पक्षमा तत्काल निर्णय गर्ने हिम्मत गर्नुस् ।

नत्र मैले फेरी सोध्नै पर्छ ‘सभापति ज्यू, म सडक आन्दोलनमा जाउँ कि चुनाव पर्खौँ ?’

लेखक नेपाल बिद्यार्थी संघ दाङका जिल्ला सदस्य हुन् ।

Facebook Comments